यमपञ्चक सुरु, पहिलो दिन आज काग तिहार

1319
views

काठमाडौं । नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) मंगलबारदेखि सुरु भएको छ । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु भएको हो । बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो ।

शास्त्रअनुसार बहिनीको घरमा रहँदाबस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए । यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदीभाइ र दाजुबहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजुभाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन् । यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए ।

संस्कृतिविद् जगमान गुरुङले यमपञ्चकका पाँच दिन पाँचवटा धर्म र नीतिले मानव सभ्यता र संस्कृतिको पाँच शृंखलालाई संकेत गर्ने जानकारी दिए । उनका अनुसार यमको अर्थ धर्म अर्थात् विधान वा नीति हो । ‘कागले घुमन्ते जीवन (अवस्था), कुकुरले सिकारी जीवन र गाईले पशुपालन गर्ने जीवनको चित्रण गर्छन्’, गुरुङले भने, ‘गोरुले कृषि जीवन र भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउने चलनको सभ्य र सुसंस्कृत मानव जीवन र यसलाई नैतिकतामा आधारित जीवनका रूपमा चित्रण गर्छ ।’