मोटरसाइकल ठोकिदा एकको मृत्यु

677
views

मोरङ, ३१, असोज । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको गरेको मे ५ प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको मृत्यु भएको हो ।

राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ४९९९ नम्बरको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।