राष्ट्रपतिद्वारा ४३ बालिकालाई गुन्यूचोलो प्रदान

842
views

काठमाण्डौ, २ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई गुन्यूचोलो प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले स्वस्ति वाचनसहित लक्ष्मीपुजा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संस्कृतिअनुसार बालिकालाई गुन्यूचोलो बाँड्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभूति सुनाउनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
हरेक बालिकालाई छिटको साडी (रातो छिर्के्िमर्के), ढाका चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिइएको थियो ।
बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरका तर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरुलाई पनि गुन्यूचोली बाँड्न उपयुक्त हुन्छ भन्ने राष्ट्रपतिबाट इच्छा व्यक्त भएअनुरुप यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि तथा संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झा, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालको पनि सहभागिता रहेको थियो ।