चीनको नीति र प्रगतिलाई अध्ययन गरी नेपालले कसरी फाइदा लिने ?

838
views

९ कात्तिक, काठमाडौं ।
आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्रा्ष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन्।
चिनियाँ राष्ट्रपतिले दुई कार्यकाल (५÷५ वर्ष) शासन गर्छन् । राष्ट्रपतिले पहिलो कार्यकाल सकेर दोस्रो सुरु गर्दा आफ्नो उत्तराधिकारी तोक्ने चिनियाँ परम्परा छ । तर यसपटक राष्ट्रपति सीले दोस्रो कार्यकाल सुरु गर्नलाग्दा उत्तराधिकारी नतोकेपछि उनले लामो समय शासन गर्ने अनुमान गर्न थालिएको छ । यसले विश्व राजनीतिलाई तरंगित त पारेको छ नै सँगसँगै ‘चिनियाँ युग’ को सुरुवात भएको विश्लेषण गर्न थालिएको छ। पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन, राष्ट्रपति सी चिनफिङले लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँगका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्छ । ‘परम्परा तोड्दै चिनियाँ कम्युनिस्ट पार्टीले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ, त्यो अपेक्षित परिवर्तन नै हो, ‘राष्ट्रपति सी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली भएर आउनुभएको छ ।’ चीनको परिवर्तनलाई नजिकको छिमेकीका नाताले नेपालले गम्भीर रुपमा अध्ययन गरी उपयुक्त नीति लिनुपर्ने थापाको धारणा छ । खासगरी चीनको नीति र प्रगतिलाई अध्ययन गरी नेपालले फाइदा लिनुपर्ने उनले बताए । सीले पहिलो कार्यकालमा लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँग भएका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्ने उनी बताउँछन्।
‘चीनसँग जे–जति समझदारी भएका छन् ती सीको दोस्रो कार्यकालमा द्रुत रुपमा अघि बढ्छन् भन्ने मेरो विश्वास छ,’ थापाले भने । चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो कार्यकालमा महत्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) लाई अघि बढाएका हुन् । एसिया, युरोप र अमेरिकालाई रेल, सडक, हवाई र जल मार्गबाट जोड्ने महत्वाकांक्षी परियोजनालाई सीले दोस्रो कार्यकालमा झन् प्रभावकारी रुपमा अघि बढाउने विश्वास थापाको छ।
‘हामीले ओबिओआरमा प्रतिबद्धता मात्र जनाएका छैनौं, एक फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकेका छौं। अब यसको कार्यान्वयनलाई अघि बढाउने हो । हामीले कसरी फाइदा लिने भन्ने योजना हामीले नै बनाउनुपर्छ,’ थापाले भने । सिपिआईको १९ औं सम्मेलनमा राष्ट्रपति सीले गरेको भाषण र छलफल भएका विषयलाई नेपालले गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने थापा बताउँछन् । थापाले थप स्पष्ट पारे, ‘सम्मेलनलाई सम्बोधन गर्दा चिनियाँ राष्ट्रपति सीले छिमेकीको प्रगतिलाई सँगसँगै अघि बढाउने बताउनुभएको छ । यसले के देखाउँछ भने चीन छिमेकीको विकासमा पनि सहभागी हुँदै घनिष्ठता बढाउन चाहन्छ । यसलाई हामीले बुझ्न जरुरी छ।’
सीले पहिलोपटक सन् २०१२ मा राष्ट्रपतिको कार्यभार समालेका हुन् । बुधबार सम्पन्न सिपिआईको १९ औं कंग्रेसले सीलाई दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति चुनेको हो । कंग्रेसले सीको धारणालाई सिपिआईको विधानमा ‘सी चिनफिङ विचारधारा’ भनेर राख्ने निर्णय समेत गरेको छ । सिपिआईले पार्टी विधानमा माओपछि सीको धारणालाई समेटेको हो। ‘चीनमा सी चिनफिङ युग सुरु भएको छ । यसलाई चिनियाँ युगको सुरुवातका रुपमा बुझ्दा पनि हुन्छ,’ चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले भने, ‘पार्टी विधानमा संविधानमा राष्ट्रपतिको मार्ग निर्देशन विचार समेटिनु निकै महŒवपूर्ण कुरा हो । सर्वसम्मत रुपमा उनको विचार समेटिनुले चीनमा राष्ट्रपति सी धेरै शक्तिशाली भएको देखिन्छ ।’
मास्केको विचारमा चीन सीको विचारमा गोलबद्ध भएको छ । अबको पाँच वर्षमा सीले उठाएका मुद्दाले चिनभित्र र बाहिर उच्च महत्व पाउने उनको विश्लेषण छ । चीनमा सीको उदयले नेपाल नीतिमा फरक नपार्ने विश्वास मास्केको छ । चीनसँगको सहकार्यलाई घनिभूत बनाउनुपर्ने उनी बताउँछन्।
खासगरी नेपालले चीनसँगको सम्बन्धमा तीन कुरामा ध्यान दिनुपर्ने मास्केको भनाइ छ । पहिलो, छिमेकीको प्रगतिलाई पनि सँगै अघि बढाउने नीति अनुरुप चीनले ओबिओआर ल्याएकाले यसलाई नेपालले गम्भीर रुपमा लिनुपर्छ । दोस्रो, चीनसँग भएका सन्धिसम्झौता नेपालले कार्यान्वयन गर्नुपर्छ र तेस्रो, त्रिदेशीय (नेपाल, भारत र चीन) सहकार्यमा चीनको चासो रहेकाले नेपालले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।
‘नेपालका लागि अवसर नै अवसर छन् । हामीले हाम्रो हितमा के–के छन् त्यो पहिला पहिचान गर्न सक्नुपर्छ । त्यसपछि सहकार्यका लागि चीनसँग हात मिलाउने हो,’ मास्केले भने । चीनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएकाले नेपालले पनि सोहीअनुसार नीति बनाउनुपर्ने उनी बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई राष्ट्रपति सीको दोस्रो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप मजबुत हुने बताउँछन् । उनी भन्छन, ‘चीन हाम्रो नजिकको छिमेकी हो, विश्वासिले मित्र हो र विकास साझेदार पनि हो । नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिन्छ र दिएको छ ।’