कर्फ्युमा गोली चल्दा एकको मृत्यु, १० घाइते

765
views

झापा कार्तिक १०, २०७४

झापाको विर्तामोडमा कर्फ्युको समयमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । बिहानदेखि तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे १ बजे देखि अनिश्चितकालसम्मका लागि लगाएको कर्फ्युमा परी अर्जुनधारा नगरपालिका(११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो ।कर्फ्यु लगाइएको समयमा कर्फ्यु तोडेर इलाका प्रहरी कार्यालय विर्तामोड तोडफोडमा गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली हान्दा ३२ वर्षीय थापालाई लागेको थियो । गोली लागेपछि उपचारको लागि मेची अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिप्रका स्रोतले बताएको छ ।उनको घाँटीमा गोली लाग‍ेको छ । उनको शव पोष्टमार्टमको लागि लगिएको छ ।

प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छदन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।

झापाको बिर्तामोडमा अनिश्चतकालीन कर्फ्यु लगाइएको छ ।शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए ।अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।

प्रहरीले ३६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।अहिले पूर्व पश्चिम राजमार्ग बन्द छ । विर्तामोडका सबै पसलहरु बन्द छन् ।जिल्ला प्रशासन कार्याललयले अहिले राजनैतिक दल र पीडित परिवार राखेर वार्ता गरिरहेको छ ।यसैगरी बिहान भएको प्रदर्शनमा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेका थिए । उनीहरुले प्रहरी कार्यालय तोडफोड गर्न नसकेपछि नजिकै रहेको सडक विभागको स्काभेटर तोडफोड गरेका थिए ।