बिर्तामोड कर्फ्यू समयमै मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो

929
views

१० कात्तिक, झापा ।
झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएका छन् ।साथसाथै मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो ।

अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत आन्दोलनकारीले जलाइदिएका छन् ।आन्दोलनका क्रममा घाइते भएका युवा ।यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।

घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुर्व्यवहार गरिएको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।