सुन तस्करीसँगै सलबलाउँदै अपराधिक समूह

765
views

कार्तिक १४, २०७४
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने कुमार अधिकारी र काभ्रे घर भई शंखमुल बस्ने टीकाबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । पेस्तोल बोकेर हिँडेको टोलीको उद्देश्य सुनेपछि पो प्रहरी झसंग भयो– उनीहरू नुवाकोटको कालिका वनमा बसेर रसुवाको केरुङ नाका हुँदै भित्रिएको तस्करीको सुन लुटने योजनामा थिए ।

प्रहरीका अनुसार सुन लुट्नकै लागि यो समूहले ललितपुरको ग्वार्कोबाट एक जनासँग ५० हजार रुपैयाँमा पेस्तोल किनेको थियो । प्रहरीले पेस्तोल बेच्नेलाई भने पक्राउ गरिसकेको छैन । प्रहरीका अनुसार यो समूहले पेस्तोल देखाएर आफूलाई प्रहरीका रूपमा प्रस्तुत गर्दै तस्करीमा भित्रिएको सुन लुट्ने योजना बनाएको थियो । तस्करीको सुन लुट्नकै लागि बन्दुक बोकेर हिँडेको यो न पहिलो समूह थियो, न अन्तिम नै । प्रहरीका अनुसार केरुङ नाका हुँदै निरन्तर सुन तस्करी हुने थालेपछि तस्करीको सुन लुट्ने योजनामा विभिन्न लुटेरा र आपराधिक समूह सक्रिय हुन थालेका देखिन्छन् ।

महानगरीय अपराध महाशाखाले २३ असोजमा पनि बन्दुकसहित यस्तै एक समूह पक्राउ गरेको थियो । म्हैपीबाट रिभल्वर र गोलीसहित काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङ पक्राउ परेका थिए । सिन्धुलीबाट रिभल्वर किनेर काठमाडौं आएको यो समूह पनि बन्दुक देखाएकै भरमा केरुङ नाका हुँदै काठमाडौं भित्रिने सुन लुट्ने योजनामा रसुवा जाँदै थियो ।

त्यसो त तस्करीको सुन ओसार्ने भरियाका रूपमा खटिएका रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामाको १६ असोजमा सुन लुकाएको आरोपमा हत्या नै भयो । दाहिनेपट्टि ढाडमा छुरा प्रहार गरी भएको हत्यामा सुन तस्करीको जिम्मा पाएका भरियाहरूकै संलग्नता रहेको खुलेको थियो ।

रसुवाको केरुङ नाका सुन तस्करीमा बारम्बार प्रयोग हुन थालेपछि त्यस्तो सुन लुट्ने आपराधिक समूह पनि सक्रिय देखिन थालेको छ । प्रहरी स्रोतका अनुसार सतहमा आएका यी दुई घटनाबाहेक बन्दुकसँग जोडिएका अन्य घटनामा पनि सुन तस्करीको कुनै न कुनै सम्बन्ध भेटिन सक्छ । रसुवाको चिलिमेका सचिव रहेको छेवाङ तामाङ भदौ १२ मा काठमाडौं आउँदै दिए । रसुवाबाट काठमाडौं आउँदै गर्दा गल्छीमा एउटा समूहले उनलाई रोक्यो र उनी सवार मोटरसाइकल लुट्यो । लुटिएको मोटरसाइकल केही घण्टामै तामाङले फेला पारे । बल्लतल्ल काठमाडौं हिँडेका तामाङ ढुंगेअड्डामा फेरि अर्को समूहको फन्दामा परे । उनको मोटरसाइकल फेरि लुटियो । लुटिएको मोटरसाइकलबारे कालिमाटी प्रहरी वृत्तमा उजुरी गर्न आएका तामाङको साधन दुई दिनपछि हलचोकको एउटा कुनामा बेबारिसे अवस्थामा फेला परेको थियो। अनुसन्धानमा संलग्न प्रहरीले बारम्बार मोटरसाइकल लुटिएको यो घटनामा पनि तस्करीको सुन लुट्ने गिरोह संलग्न भएको आशंका गरेको थियो । अनुसन्धानमा तामाङले मोटरसाइकलमा तस्करीको सुन लिएर आएको भन्ने सूचनाका आधारमा गिरोह सक्रिय भएजस्तो देखियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी संगठित तस्करीसँगसँगै जहिले पनि स–साना आपराधिक समूह सक्रिय हुने इतिहास रहेको बताउँछन् । सुन तस्करी बढेसँगै तस्करीको सुन लुट्न केही समूह सक्रिय रहेको घटनाक्रमले पनि देखाउँछ । लोहनीले भने, ‘अवैध तस्करी नियन्त्रण गर्न सकिएन भने यस्ता स–साना समूह सतहमा आउने खतरा सधैं रहन्छ ।’