‘उत्तर कोरियासँग सिधा सम्पर्कमा छौँ’-अमेरिकी विदेशमन्त्री

1945
views

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिका उत्तर कोरियासँग ’सिधा सम्पर्क’मा रहेको बताएका छन् । वाशिङटनले प्योङयाङसँग वार्ताको सम्भावनाको खोजिरहेको भन्दै टिलर्सनले अमेरिकासँगै रहन आग्रह गरे ।
यद्यपि आफ्ना क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ता गर्न उत्तर कोरिया अनिच्छुक देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
चीन भ्रमणका क्रममा टिलर्सनले भने, “प्योङयाङसँग हाम्रा सम्पर्कका माध्यमहरु छन्, हामीबीच कुराकानी नभएको अवस्था चाहिँ होइन ।“ अमेरिकी विदेश मन्त्रालयले विभिन्न माध्यमबाट प्योङयाङसँग कुराकानी भइरहे पनि थोरै प्रगति देखिएको जनाएको छ ।
विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनिन्, “अमेरिकाले उत्तर कोरियाली सत्तालाई ढाल्न लगाउने गतिविधिमा नलागेको प्रत्याभूति दिलाए पनि त्यहाँका नेताहरुले निःशस्त्रीकरणबारे वार्ताका लागि तयार रहेको कुनै संकेत दिएका छैनन् ।“
परीक्षण
लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले आफ्नो अस्त्र विकास कार्यक्रम बन्द गरोस् भनी अमेरिका चाहन्छ । तर राष्ट्रपति ट्रम्पकै केही रवैयाका कारण वार्ता प्रयास फलदायी हुन नसकेको बताइन्छ । गत महिनामात्रै उनले वार्ता हल नभएको टिप्पणी गरेका थिए ।
गत महिना उत्तर कोरियालाई ’नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ(अनलाई ’आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए । जवाफमा किम जङ(अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ’कुकुरको आवाज’ को संज्ञा दिएका थिए । विविसी