बर्दियामा दुई पक्षबीच झडप, स्थिति काबु बाहिर गएपछि प्रहरीद्वारा ४ राउण्ड हवाई फायर

1372
views

बर्दिया, १६ असोज । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित लालपुर गाउँमा दुई समुहबीच झडप भएको छ । देवीको मुर्ती तथा ताजीया (मोर्हरम) बिर्सजनका क्रममा दुई समूहबीच आइतबार वेलुकी झडप भएको हो ।
बाँकेको नेपालगञ्ज लगायत बर्दियाका विभिन्न स्थानबाट बबई भादा नदीमा देवीको मुर्ती बिर्सजन गर्न लैजाँदै गरेको समूह र लालपुरदेखि गणेशपुरतर्फ ताजीया बिर्सजनका लागि गैरहेको समूहबीच सडकमा जम्काभेट भएको र सोही जम्काभेटका क्रममा झडप भएको हो ।

ताजिया बिर्सजक र मूर्ती बिर्सजक बीच बाटो दिने क्रममा विवाद भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ । दुवै पक्षबीच तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास प्रहार गरेको भएपनि स्थिति काबु ा बाहिर गएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको जनाएको छ ।
झडपमा घाईते
झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । झडपका क्रममा दुवै समूहका व्यक्तिहरु घाइते भएका छन् ।
गुलरिया नपा बार्ड नम्वर ११ स्थित नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत लालपुर लगायत आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू घोषणा गरेको छ । विर्सजन विवादलाई लिएर पुन झडप हुन थालेपछि अर्को आदेश नहुँदासम्मको लागि कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यूका कारण सवारी आवागमन अवरुद्ध छ भने यात्रु अलपत्र परेका छन् ।