झडपकाबीच क्याटलन जनमत संग्रह, स्वतन्त्रताको बाटो खुलेको नेताहरुको दाबी

2119
views

एजेन्सी । ब्यापक सरकारी दमन र हिंसाकाबीच क्याटलोनियाको स्वतन्त्रतासम्बन्धि जनमत संग्रह भएको छ । जनमत संग्रहको पक्षमा रहेका र प्रहरीबीचको झडपका क्रममा ३८ जना घाइते भएको बताइएको छ । स्पेनको संवैधानिक अदालतले जनमत संग्रह अवैधानिक भएको बताएको छ भने स्पेनी सरकारले मतदान रोक्न आग्रह गरेको थियो ।

स्पेनको उत्तरपूर्वी राज्य क्याटलोनिआका नेताहरुले भने जनमत संग्रहबाट स्वतन्त्रताको बाटो खुला भएको दाबी गरेका छन् । क्याटलोनियाले अलग हुन पाउनुपर्ने भन्दै भएको जनमत संग्रहमा कूल खसेको ४२ दशमलव २ प्रतिशत मतमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटेलियन नेताहरुको दाबी छ ।

क्याटेलियन नेता कार्लेस पुइगदिमोन्टले मतमत संग्रहले स्पेनबाट अलग हुने बाटो खुला गरिदिएको बताएका छन् । उनले सरकारी दमनका बीच ९० प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेको दाबी गरे । क्याटेलियनहरुले एकपक्षीय रुपमा गराएको जनमत संग्रह रोक्न सरकाले ठूलो शक्ति प्रयोग गरेको थियो । जनमत संग्रहका क्रममा सुरक्षाकर्मी र क्याटेलियनहरुबीच ठाउँठाउँमा झडप भएको थियो ।

सयौं व्यक्तिलाई सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएका छन् भने जनमत संग्रहका लागि राखिएका ब्यालेट बक्ससमेत नियन्त्रणमा लिएका थिए ।