हङकङ, १६, असोज । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) विश्वको छैटौं प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा उक्लिन सफल भएको छ ।
विश्व आर्थिक मञ्च (डब्लुईएफ)को ‘ग्लोबल कम्पिटेटिभ इन्डेक्स’मा हङकङ गत वर्षभन्दा तीन स्थान माथि उक्लिएको हो ।
उक्त सूचीअनुसार स्विट्जरल्यान्ड, अमेरिका, सिंगापुर, नेदरल्यान्ड्स र जर्मनी हङकङभन्दा माथि छन् । चीनको मुख्यभूमि भने २७औं स्थानमा छ ।
स्विट्जरल्यान्डस्थित मञ्चले हङकङलाई संसारको उत्कृष्ट पूर्वाधार संरचनाका लागि सराहना पनि गरेको छ । र, दोस्रो सबैभन्दा कुशल बजारका रुपमा व्याख्या गरेको छ । हङकङले स्वस्थ प्रतिस्पर्धा र खुलापन अपनाएको जनाएको छ, उक्त मञ्चले । सोही कारण बलियो र स्थिर वित्त बजार तयार भएको मञ्चको निष्कर्ष छ ।
‘पछिल्लो एक वर्षमा हङकङलाई क्षेत्रीय वित्त बजारहरुमा स्थिरीकरणका रुपमा आंशिक हिसाबले अधिक अनुकुल, व्यापक आर्थिक वातावरणबाट लाभ प्राप्त भएको छ,’ रिपोर्टमा उल्लेख छ ।
उक्त सूचीमा सिंगापुर एक स्थान तल झरेको छ, जुन एसियाको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र मानिन्छ । अमेरिकाभन्दा अगाडि स्विट्जरल्यान्डले आफूलाई विश्वव्यापी र्‘याङ्किङ’मा अगाडि राखेको छ । र, चीनको मुख्यभूमि गत वर्षभन्दा माथि उक्लिएको छ ।
गैरनाफामुलक मञ्चले एक सय ३७ वटा मुलुकको अर्थतन्त्रबारे मूल्यांकन गर्दै आएको छ । विस्तृत वृद्धिदर हासिल गर्न देशहरुको क्षमतामा सकारात्मक परिवर्तन तथा नागरिकहरु र पर्यावरणीय लाभका क्षेत्रबारे विश्लेषण गर्ने गरिएको छ । उक्त मञ्चले नवीनता, पूर्वाधार विकास र स्थुल अर्थतन्त्रका लागि वातावरणलगायत १२ वटा आयामबारे विश्लेषण गर्छ । र, सोहीअनुसार सूची प्रकाशित गर्छ । सिन्हवा