सर्वपक्षिय बैठकपछि बर्दियाको लालपुर सामान्य बन्दै

2286
views

बर्दिया, १७ असोज । गुलरिया नगरपालिका–११ लालपुरमा सोमबार बिहान साढे ८ बजेदेखि लगाइएको कफ्र्यु नहटेपनि स्थिति सामान्य बन्दै गएको छ । स्थानीय दुई समूहबीचको झडपपछि लगाइएको कफ्र्यु नहेपनि स्थानीय प्रशासनको रहोबरमा राजनीतिक दल, नागरिक अगुवालगायतको सर्वपक्षीय बैठकपछि स्थिति सामान्य बन्दै गएको हो ।
सर्वपक्षिय बैठकले धार्मिक सद्भाव कायम राख्न झडपमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, छानबिन समिति गठन गरि दोषी उपर कारबाही गर्ने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

फाईल तस्विर


देवीको मूर्ति विसर्जनका लागि बर्दियाको पूर्वतर्फबाट भादा घाट आउँदै गरेको समूह र ताजिया विसर्जनका लागि लालपुर चोकमा रहेको मस्जिदनजिक भेला भएका स्थानीयबीच आइतबार साँझ ६ बजेतिर झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास हानेको थियो । सोमबार बिहान सोही विषयलाई लिएर पुनः झडप भएपछि स्थिति नियन्त्रमा लिन जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको हो ।
झडपमा चार प्रहरी र सात स्थानीय गरी ११ जना घाइते छन् । गम्भीर घाइते भएका एक प्रहरीलाई स्थानीय अस्पतालले उपचारका लागि काठमाडौं रिफर गरेको र बाँकी सामान्य उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।