आक्रमणकारीको घरबाट ‘थप हतियार बरामद’

2216
views

अमेरिकाको लास भेगस गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियारहरु फेला पारिएको बताएका छन् ।

एकजना स्थानीय अधिकारीले पत्रकारलाई जानकारी गराए अनुसार ६४ वर्षीय हमलाकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको छ ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए ।
आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या ५९ पुगेको प्रहरीले जनाएको छ ।
ट्रम्पद्वारा निन्दा
घटनामा अन्य ५०० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीले घटनास्थललाई घेरा हालेपछि प्याडकले आफैंलाई मारेका थिए । घटनास्थलबाट थप १० वटा राइफल फेला पारिएको थियो । अधिकारीहरुका अनुसार बन्दुकधारी र अन्तर्रा्ष्ट्रिय लडाकु समूहबीच कुनै सम्बन्ध देखिएको छैन् ।

प्याडकले हत्या गर्नुको उद्देश्य थाहा हुन नसकेको र विगतमा उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको अधिकारीहरुले बताएका छन् । घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई ’दुष्टताले भरिपूर्ण क्रियाकलाप’ भनेका छन् । विविसी