भाटे कारवाहीको तयारी गर्न किराँतीको आव्हान

प्रचण्डको एमालेमा विलयलाई खारेज गर्दै गोपाल किराँतीले निकाले यस्तो विज्ञप्ति

2132
views

काठमाण्डौ १८ असोज । नेकपा एमालेसँग पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णयप्रति सो पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट बनेका छन् ।एमालेसँग चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने निर्णयलाई चुनौति दिँदै माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले पार्टी पुर्नगठन गर्नका लागि भेला आयोजक समिति निर्माणको आव्हान गरेका छन् ।
एमालेसँग एकताको प्रस्तावमाथि सचिवालय बैठकमा चर्को असहमति व्यक्त गर्दै भोजपुर पुगेका नेता किरातीले विज्ञप्ति जारी गर्दै पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगरी पार्टीलाई एमालेमा विलय गराउने प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जजनवाद भएको भन्दै त्यसको चौतर्फी भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन् ।उनले सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी निर्वाचनमा पहिचानविरोधी उम्मेदवारलाई भाटे कारबाहीको तयारी गर्न क्रान्तिकारी युवाहरुलाई आग्रह समेत गरेका छन् ।
माओवादी केन्द्र पार्टी पुनर्गठन गर्न भेला आयोजक समिति बनाउनुअघि एक पटक प्रचण्डसँग वार्ता गर्ने उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको विज्ञप्तिमा भनिएको छ, ‘ चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनर्गठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।’
विज्ञप्ति
माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान
(१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।
(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

                     गोपाल किराँती
नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।