कांग्रेस बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा, औचित्यहिन बाम एकताले प्रभाव नपर्ने

1986
views

काठमाडौं, १८ असोज । कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेसले आफ्नो राजनीतिक चरित्र सुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने निष्कर्ष सहित लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोतको भनाई छ । काँग्रेसको बैठकमा वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्ष निकालिएको समेत स्रोतको दाबी छ ।कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन् ।

यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताएको स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीचको भेटसमेत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुने तालमेलमा केन्द्रित भएको थियो । यादवले दाहाललाई प्रदेश नम्बर २ मा कांग्रेस आफ्नो पार्टीलाई हराउन लागेका कारण त्यसविरुद्ध आफूहरू रहेको जानकारीसमेत दिएको माओवादी स्रोत बताउँछ ।

कांग्रेसका नेताहरूको अनौपचारिक बैठकलगत्तै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री देउवालाई भेटी प्रजातान्त्रिक मोर्चाका लागि कांग्रेसले निर्णय गर्नुपर्ने बताएको बालुवाटार स्रोतको भनाई छ ।

देउवाले मंगलबार नै राजपा अध्यक्ष महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका केही नेतासँग पनि सम्पर्क गरेका थिए । कांग्रेस नेता रमेश लेखकले एमाले र माओवादीबीचको चुनावी तालमेलले कांग्रेसको परिणाममा तात्विक भिन्नता नरहने दाबी गरे । ‘मंगलबार भएको एमाले–माओवादी सहमति प्रजातन्त्रका लागि खतरा हो’, नेता लेखकले भने, ‘कांग्रेसको काम निर्वाचन गराउनु र प्रजातन्त्र बचाउनु हो ।’