एमाले ठिक छ, विलय हुन आउनेहरु सकिएः पोखरेल

3031
views

दाङ, १९, असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै भित्रभित्रै गुम्सिएको कुरा ओकलिन थालेको छ । एकताकाको ६ बुंदेमा दुबै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्काविरुद्ध अभिव्यक्ति नदिने उल्लेख भएपनि घोचपेच भने सुरु हुन थालेको छ ।
चुनावी अभियानको क्रममा गृहजिल्ला दाङ पुगेका एमाले नेता शंकर पोखरेलले माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको दाबी गर्दै एमाले ठिक रहेकाे तर माओवादी केन्द्र विलय भएको प्रतिक्रिया दिएका छन् ।
बुधवार दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारीक र व्यवहारीक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको बताए ।
कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलिय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको भनाई राखे । उनले माओवादी केन्द्रको हैसियत ४० प्रतिशत नभएको तर एमालेले छाती ठूलो पारेर दिएको दाबी गरे ।