संसदको प्राथमिकतामा निर्वाचन विधेयक, समस्या गणपुरक संख्याको

1943
views

असोज २० गते । शुक्रबार दिउँसो बस्ने संसदको बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयक पारित गर्न कोसिस गर्ने सभामुख ओनसरी घर्तीले बताएकी छन् । हालको संसदको कार्यकाल सकिनै लाग्दा महत्वपूर्ण मानिएका कतिपय विधेयकहरु पारित हुन सकेका छैनन् । दशैं बिदापछि शुक्रबार पहिलोपटक बस्न लागेको संसद बैठकमा निर्वाचन सम्बन्धी विधेयकहरु प्राथमिकतामा परेको सभामुख ओनसरी घर्तीले बताइन् । उनले भनिन्, “प्राथमिकतामा निर्वाचन सम्बन्धी विधेयक स्वतः छन् । सरकारको प्राथमिकतामा रहेका अरु १०–१२वटा विधेयकहरु छन् त्यो पनि पारित हुन्छ । कति सक्छौं गर्छौं, अब लगातार संसद बस्छ ।“
यसअघि संसदमा गणपुरक संख्या ’कोरम’ पुगेको थिएन । हाल धेरै सांसद चुनावको तयारी गर्न आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । यसकारण शुक्रबार बस्ने संसदमा पनि कोरम नपुग्नसक्ने ठानिएको छ । तर सरकारका प्राथमिकतामा परेका विधेयक पारित गर्न कोरम पुग्ने आशा सभामुख घर्तीले व्यक्त गरिन् ।
संविधानको व्यवस्था अनुसार हाल संसदमा रहेका विधेयकहरु पारित नभए अब बन्ने संसदमा ती विधेयक पुनः शुरुवाती अवस्थामा पुग्नेछन् । हालको रुपान्तरित व्यवस्थापिका संसदको अवधि २०७४ साल माघ महिनाको ७ गतेसम्म भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद कायम रहने उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन कार्तिक ५ गते तोकेकाले त्यसको एक दिन अघिनै हालको संसद स्वतः भङ्ग हुनेछ ।