मेस्सीले सबै प्रयास गरे, दुर्भाग्य अर्जेन्टिना पेरुसँग बराबरीमा रोकियो

1919
views

काठमाण्डौ । विश्वकपमा स्वत छनोट सम्भावना जीवित राख्न जित्नुपर्ने खेलमा अर्जेन्टिना पेरुसँग बराबरीमा रोकिएको छ । जस्ले विश्वकपमा छनोट हुने अर्जेन्टिनाको सम्भावनालाई कठिन मोडमा उभ्याएको छ ।
दक्षिण अमेरिकी समूहका शीर्ष चार टोली स्वतःछनोटमा पर्ने प्रावधान छ । पाँचौ स्थानमा रहेको अर्जेन्टिनाले चौथो स्थानमा रहेको पेरुसँग अंक बाडेपछि पेरुको स्वतः छनोट हुने सम्भावना बढेको छ ।
बराबरीसँगै विश्वकप सम्भावना जीवित राख्न अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरलाई फराकिलो गोलअन्तरले पराजित गर्नुका साथै अन्यको टोलीको नतिजामा भरपर्नुपर्ने भएको छ ।
सोही समूहको चिलीले इक्वेडरलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएपछि अर्जे्न्टिना छैठौ स्थानमा धकेलिएपछि अर्जेन्टिनाको विश्वकपमा छनोट नहुने समस्या झनै बढेको हो ।
घरेलु मैदानमा सुपरस्टार लिओनल मेस्सीले टोलीलाई जित दिलाउन सवै प्रयास गरेपनि उनी सफल हुन सकेनन् ।

पहिलो हाफमा मेस्सीले राम्रो पासहरु र सटहरु खेल्दै विश्वकै उत्कृष्ट मध्येको एक पेरुको डिफेन्सलाई तोड्ने प्रयास गरेका थिए ।
पहिलो हाफमा मेस्सीका गोल गर्ने दुई प्रयास सफल हुन सकेनन्। लुकास बिगालियाबाट पाएको पासलाई सुन्दर तरिकाले अगाडी बढाउदै बायाँ खुट्टाले उनले प्रहार गरेको पास गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । डारियो बेनिडिटोको क्रसमा मेस्सीले हेड प्रहार गर्दा गोलपोस्टको थोरैमात्र माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा पनि मेस्सी तथा अर्जे्न्टिनाले धेरै संघर्ष गर्नुपर्यो तर जित निकाल्न सकेन्। गत विश्वकपको उपविजेता समेत रहेको अर्जे्न्टिनाले सन् १९७० यता विश्वकपमा छनोटबाट बाहिरिनु परेको छैन् ।