वैद्य र विप्लवबीच ध्रुविकरणको बहस, परिथापाको छुट्टै दस्तावेज

1374
views

पोखरा, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादी पार्टीका नेता पोखरामा भेला भएका छन् । क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन छ भने नेकपाको केन्द्रीय समिति बैठक ।

सम्मेलन र बैठकले महत्वपूर्ण निर्णय लिने दुबै पार्टीका नेताहरुले बताएका छन् । एमाले(माकेको नेतृत्वमा अगाडि बढेको वाम ध्रुविकरणबारे दुबै पार्टीले आधिकारिक धारणा तय गर्ने छन् ।

त्यस्तै दुबै पार्टीले भन्दै आएको क्रान्तिकारी ध्रुविकरणबारे पनि नयाँ निर्णय हुन सक्ने बताइएको छ । विप्लव र वैद्य दुबैले एमाले–माकेको चुनावी तालमेल तथा एकतालाई अवसरवादीहरुले सत्ताको लागि गरेको एकता र माकेको एमालेमा विलय भन्दै आएका छन् । क्रान्तिकारी माओवादीको पूर्व निर्धारित कार्यक्रम हो भने नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमबारे समिक्षा गर्न बैठक बस्न लागेको हो ।

नेकपाले विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे निर्णय गर्नेछ भने क्रान्तिकारी माओवादीले पार्टीको कार्यदिशा नै तय गर्नेछ । क्रान्तिकारी माओवादीमा दुईओटा दस्तावेज सम्मेलनमा पेश हुने भएका छन् ।

अध्यक्ष मोहन वैद्य ‘किरण’को दस्तावेजमा सहमत हुन नसकेपछि नेता परि थापाले अलग्गै दस्तावेज तयार गरेका छन् । थापाले जनयुद्ध र माओवादलाई मान्न नसकिने बताएका छन् ।