फौजी कार्यदिशाको रणनीति तय गर्दै वैद्य माओवादी

1445
views

पोखरा, २२, असोज । नेकपा (क्रान्तिकारी माओवादी) को पहिलो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । सो पार्टीले साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं ! दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दैै नयाँ एकताबद्ध र क्रान्तिकारी पार्टीको निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ! भन्ने मूल नारासहित सुरु भएको सम्मेलनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि फौजी कार्यदिशाको रणनीति तय गर्ने पार्टी प्रवक्ता हरिभक्त कँडेलले बताए ।प्रचण्ड–बाबुरामले गद्दारी गरी प्रतिक्रियावादी कित्तामा पुगेपछि नयाँ जनवादी क्रान्ति पूरा गर्ने जिम्मेवारी आफूहरुको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) फौजी हस्तक्षेपसहितको कार्यनीति तय गर्ने भएको हो ।

वि.सं. २०७२ सालमा परि थापा नेतृत्वको नेकपा (एकीकृत) सँग पार्टी एकतापछि बनेको क्रान्तिकारी माओवादीको यो पहिलो राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा केन्द्रीय समितिद्वारा पारित पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ को पार्टीको रणनीति, कार्यनीति, कार्यक्रम र कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन छलफलपछि पारित गर्नेछ ।

राष्ट्रिय सम्मेलनमा देशभरीबाट आयोजकसहित ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता कँडेलले बताए । सम्मेलनको उद्घाटन सत्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समेतलाई निमन्त्रणा गरिएको छ ।