ई–सेवाप्रति बढ्दो आकर्षण, तेह्रथुममा दैनिक एक लाखको कारोबार

2453
views

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बनेको छ । सुरुमा छिटपपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाका ग्राहक दिनप्रतिदिन बढेका छन् । ई–सेवाको मुख्य विषेशता छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिनु हो ।
अहिले सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, संक्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेन्ट’ सर्वत्र छ । तेह्रथुममा प्रति महिना कम्तीमा ३० लाख रुपैयाँको कारोबार हुने गरेको ई–सेवा जोन रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए ।
जिल्लामा ई–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिसी टिभी रिचार्ज र हवाई जहाज टिकट हुनेगरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका ई–सेवा प्वाइन्ट प्रकाश राईले भनाई छ ।
राईले पनि मासिक अढाई लाखसम्म ई–सेवामार्फत कारोबार गर्ने गरेका छन् । उनले भने ई–सेवामार्फत मोबाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्न सकिन्छ । ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ ।
ई–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरी २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै ई–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताए ।