चिकित्सकमाथि हातपात गर्ने पाँचजना प्रहरी नियन्त्रणमा, महाकाली अञ्चल अस्पताल बन्द

2065
views

कञ्चननपुर, २३, असोज । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले शनिवार हातपात गरेका छन् । बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालबाट दिईने सेवा प्रभावित बनेको छ ।
सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयमा सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए । तर स्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन् ।
डा. सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ । बच्चा जन्मिदै मृत्यु भइसकेको थियो, तर महिलाका आफन्त आक्रोशमा आएर हातपातमै उत्रिएको डा. कोईरालाले बताए ।
बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सकमाथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँचजना आफन्तलाई नियन्त्रणमा लिएको बताए ।