वारेसमा देउवाको उम्मेदवारी, ओली दाहालको तामझाम

895
views

काठमाडौं, १७ कात्तिक । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार मुलुकभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। जुलुस, नाराबाजी र बाजागाजासहित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दोस्रो चरणमा प्रमुख दलका प्रमुख नेता उम्मेदवार बनेका छन् । बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वाम गठबन्धनका नेताले सामूहिक रूपमा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका थिए । ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानका लागि उम्मेदवारी दर्ता भएको हो ।
उच्च हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते हुँदै छ । संविधानसभाबाट संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड र गठबन्धनका कारण थोरै मात्र दलले प्रतिनिधिसभामा प्रवेश पाउने आकलन गरिएको छ । साना दल पनि ठूला दलका गठबन्धनमा मिसिएर चुनावमा सहभागी भएका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता(कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए । ओली झापा– ५ र दाहाल चितवन–३ बाट उम्मेदवार बनेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।
एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले क्रमशः काठमाडौं २ र इलाम १ बाट उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ(१ बाट उम्मेदवारी दिएका छन् । ०४८ देखि लगातार भक्तपुरबाट निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भने यसपटक उम्मेदवार बनेनन् । पूर्वसभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्तपुर(२ बाट उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभाका लागि उम्मेदवारले मनोनयनपत्रसाथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र अनिवार्य गरिएको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको उम्मेदवारका लागि १० हजार र प्रदेशसभाको उम्मेदवारका लागि ५ हजार धरौटी निर्धारण गरेको थियो । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट दिइएको थियो ।
प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा माग गरिएको थियो । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । विगतमा शीर्ष नेताहरू दुईवटा निर्वाचन क्षेत्रबाट एकैपटक उम्मेदवार बन्ने गरेका थिए तर नयाँ बनेको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले एकपटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको थियो ।
दोस्रो चरणमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् ।
त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा निर्वाचन हुँदै छ ।
सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले निर्वाचनमा भाग लिँदै छन् ।