सिपी मैनालीका श्रीमान श्रीमती नै समानुपातिकमा, चित्रबहादुरको नाम एक नम्बरमा

739
views

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम सो पार्टीबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीको एक नम्बरमा छ । जनमोर्चाले प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेर वाम गठबन्धनका तर्फबाट उपाध्यक्ष दूर्गा पौडेललाई प्रत्यक्षतर्फको सांसदमा उठाएको छ भने अध्यक्ष केसीलाई समानुपातिक सूचीमा राखेको हो ।
राष्ट्रिय जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर केसी पछाडि जनकराज शर्मा, शंकरप्रसाद बराल, दुर्गाबहादुर केसी, चन्द्रबहादुर खत्री लगायत १०२ जना छन् ।

नेकपा मालेका महासचिव सीपी मैनालीले यसवर्ष पनि समानुपातिकको सूचीमा आफू र आफ्नी पत्नी निलम खड्कालाई समेटेका छन् ।
दोस्रो संविधानसभामा पनि मैनाली दम्पती पार्टी कार्यकर्ताको भोटबाट सांसद बनेका थिए । र, उनीहरु पालैपालो मन्त्रीसमेत बनेका थिए ।
निर्वाचन कानूनले थ्रेसहोल्डको व्यवस्था गरिसकेको अवस्थामा पनि केही साना पार्टीहरु समानुपातिकतर्फबाट सांसद बन्न पाइने आशमा छन् । यही आशमा रहेका नेकपा मालेका महासचिव मैनालीले आफ्नो नाम समानुपातिकको तेस्रो नम्बरमा राखेका छन् । पत्नी निलम केसीको नाम १८ औं नम्बरमा छ ।
हँसिया र तारा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने नेकपा माले र जनसमाजवादी दुबैले प्रतिनिधिसभातर्फका ११० सिटमध्ये १०८ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन् ।