कामको समयमा पनि नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकीने, यसरी हुँदैछ सवारी सञ्चालन

746
views

चितवन, १८ कार्तिक । निर्वाचनको समयलाई मध्यनजर गर्दैसवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ ।
सडकमा कालोपत्रेको काम भईरहेको भएतापनि एकातर्फबाट सवारी सञ्चालन र अर्काेतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो मिलाएर सञ्चालन गर्ने तयारी गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भएपनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताउनुभयो ।
आयोजनाले यसअघि झै दैनिक छ घण्टा पूरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलोपालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताउनुभयो । आउँदो मंगलबार ठेकेदार, परामर्शदाता कम्पनी, आयोजना र स्थानीय प्रशासनका बीचमा छलफल गरी यातायात सञ्चालन गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिने उहाँले बताउनुभयो ।
सडकमा भित्तो काटिसकेको ठाउँमा सडको चौडा नौदेखि ११ मिटर फराकिलो भएकाले एकातर्फ सवारी गुड्दा पनि काम प्रभावित नहुने स्थानीय प्रशासनको ठम्याइ छ ।
सडकखण्डको विभिन्न ठाउँमा गरेर करिब ८०० मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको ठेकेदार कम्पनीले बताएका छन् । सडकको नौ किलोमिटर क्षेत्रको एकातर्फ भागमा एक तह कालोपत्रे सकेर दोस्रो तह कालोपत्रे गर्ने काम भइरहेको छ ।
ठेकेदार कम्पनीलाई आगामी फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षात्मा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने आयोजना प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको छ । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ । भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायतका कारण शुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पु¥याइँदैछ ।
यसअघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षात्, निर्वाचनलगायतका समयमा रोकिएको कामको मिति थपिएको थियो ।
हालसम्म ५८ प्रतिशत मात्रै काम भएको उहाँले बताउनुभयो । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उहाँले बताउनुभयो । फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । सडकको नारायणगढबाट १६ किलोमिटरमा ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने खनालले बताउनुभयो ।
सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षात् अघिसम्म भने काम सकिने बताउनुभयो । उहाँले भन्नुभयो “आउँदो वर्षात्मा यो सडकका कारण जनताले दुःख पाउँदैनन् ।’
नारायणगढ मुग्लिन सडकखण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ ।