एसियाली मुलुकको ११ दिने भ्रमणमा अमेरीकी राष्ट्रपति ट्रम्प

732
views

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन् । भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन् ।

गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ । उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन् ।

आफ्नो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ ।

भ्रमणमा निस्केका ट्रम्प शुरुमा हवाई पुगे जहाँ उनले अमेरिकी प्यासिफिक कमाण्डको ’ब्रिफिङ’मा सहभागिता जनाए ।
उनले पर्ल हार्बरस्थित ’युएसएस एरिजोना मेमोरिअल’ को पनि भ्रमण गर्नेछन् । पर्ल हार्बर त्यही ठाउँ हो जहाँ सन् १९४१ मा जापानले आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमिन पुग्यो ।

हवाईबाट राष्ट्रपति ट्रम्प प्रथम महिला मेलानियासहित जापान पुग्नेछन् र त्यहाँबाट दक्षिण कोरिया जानेछन् । ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठककमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन् । त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण(पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन् । विविसी