अमेरिकी राष्ट्रपति बेईजिङ ओर्लिनुअघि भारत र जापानलाई दिए खुसी पार्ने अभिव्यक्ति

867
views

कार्तिक, १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘एसिया–प्यासिफिक’ क्षेत्रको नाम फेरेर ‘इन्डो–प्यासिफिक’ शब्द प्रयोग गर्न थालेको छ । अष्ट्रेलियादेखि भारतसम्म फैलिएको जल तथा स्थल क्षेत्रलाई दशकौँसम्म ‘एसिया–प्यासिफिक’ क्षेत्रका रुपमा चिनिँदै आएको छ । ट्रम्प सत्तामा आएसँगै उनको प्रशासनले यो क्षेत्रको नाम परिवर्तन गर्न जोड दिएको छ ।

ट्रम्पको एसिया भ्रमणअघि पत्रकारहरुसँग बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याक्मास्टरले बिहीबार बारम्बार ‘इन्डो प्यासिफिक’ शब्दको प्रयोग गरे। म्याक्मास्टरले राष्ट्रपतिले ‘इन्डो–प्यासिफिक क्षेत्रका नेताहरुसँग ४३ पटक कुरा गरेको’ उल्लेख गरेका थिए । त्यसअघि बुधबारको क्याबिनेट बैठकपछिको टिप्पणीमा ट्रम्पले पनि यो नाम उल्लेख गरेका थिए । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले दुई साताअघि भारतसँग रणनीतिक सम्बन्ध विस्तार गर्ने विषयमा बोलेका थिए । उनले भारतसहित अष्ट्रेलिया र जापानजस्ता ‘प्रजातान्त्रिक देशसँग’ साझेदारी गर्ने कुरा बताएका थिए । सो भाषणमा उनले १५ पटक ‘इन्डो प्यासिफिक’ शब्दको प्रयोग गरेका थिए ।

अमेरिकी प्रशासनको ‘एसिया–प्यासिफिक’को नाम फेर्ने यो प्रयासलाई चीनसँग अमेरिकाको बढ्दो प्रतिस्पर्धासँग जोडेर हेरिएको छ। महाशक्तिका रुपमा स्थापित हुँदै गर्दा चीनलाई एसिया भनेको चीनको वरिपरिको क्षेत्रमात्रै होइन भन्ने सन्देश दिन यो शब्दको प्रयोगलाई व्यापक बनाइएको विश्लेषण गरिएको छ।

त्यस्तै यो शब्दको प्रयोगमा जोड दिइनुको अर्को उद्देश्य हो, यही क्षेत्रमै चीनका प्रतिद्वन्द्वीहरुलाई एक ठाउँमा उभ्याउनु। त्यसैले नै अमेरिकाले जापान, भारत र अष्ट्रेलियासँगको सम्बन्धलाई जोड दिइरहेको विश्लेषण गर्न थालिएको छ।

त्यसबाहेक ट्रम्पको आगमनपछि समग्र कूटनीतिमा अमेरिकाको फेरिएको प्राथमिकताको एक हिस्साको रुपमा पनि यसलाई अर्थ्याइएको छ ।
‘इण्डो–प्यासिफिक’ शब्द नयाँ नभएपनि भूराजनीतिमा भने यो भर्खरै स्थापित शब्द हो। अमेरिकाका विदेशनीतिमा आधिकारिक रुपमा यो शब्दले सन् २०१० मा प्रवेश पाएको थियो। यद्यपि त्यसभन्दा निकै अघि नै एपेक, आसियानजस्ता संगठनहरुको स्थापना भइसकेको थियो ।

पछिल्लो पटक एसियाको अवधारणालाई परिभाषित गर्नमा विभिन्न शक्तिकेन्द्रहरुको प्रतिस्पर्धा हुँदै आएको छ । चीनले बेल्ट एन्ड रोड इनिसियटिभ्समार्फत् आर्थिक, व्यापारिक संरचनाहरु र सम्बन्धहरुमा गर्न खोजेको परिवर्तनबाट एसियाको परिभाषा चीनको वरिपरि केन्द्रित हुने आशंका अमेरिकासहित अन्य राष्ट्रहरुमा परेको हुनसक्छ । त्यसैले नै अष्ट्रेलिया, भारत, इन्डोनेसिया, जापान र अमेरिकाका नीति निर्माता तथा नेताहरुले ‘इन्डो–प्यासिफिक’ शब्दको प्रयोगमा जोड दिँदै आएका छन् ।

यदि त्यसो हो भने अमेरिकाको यो प्रयास सफल होला त ? व्यापार सम्झौताहरुलाई खारेज गरेर र तनाव बढाएर ट्रम्पले एसियामा अमेरिकाको भूमिकालाई सीमित गरेका छन् । यो धारणालाई परिवर्तन गर्न ट्रम्प र उनको प्रशासनको पछिल्लो पहलले निकै कम भूमिका खेल्ने बरु यसले भाषा र शब्दगत दुविधा सिर्जना गर्ने विश्लेषण गरिएको छ । एजेन्सी