काँग्रेस बोक्नु त सत्यदेवीको लास बोक्नु जस्तो पो रहेछ– अधिकारी

984
views

चन्द्रश्वर बस्ताकोटी
गोरखा, २० कार्तिक । बाम गठबन्धनका गोरखा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरीराज अधिकारीले काँग्रेसलाई बोकेर हिँड्दा सत्यदेवीको लास बोकेको जस्तो भएको बताएका छन् ।
काँग्रेस सुध्रिन्छ की भनेर कहिले एमाले र कहिले माओवादीले पालैपालो बोक्दा पनि काँग्रेस सुध्रन नसकेको अधिकारीको आरोप थियो ।
बाम गठनबन्धन गोरखाले आयोजना गरेको चुनावी सभामा नेता अधिकारीले भने ‘रामायणमा लेखिए अनुसार महादेवले सत्यवती मरेपछि पनि माया लागेर लास बोकेर हिँडेका थिए, यसरी बोकेर हिँड्ने क्रममा कुहिएर कहिले, हात, कहिले खुट्टा झरिहन्थ्यो, काँग्रेस बोक्दा पनि त्यस्तै भयो ।’ परिवर्तनका पक्षमा अलिकति काम गर्न खोज्यो पछि हटिहाल्ने उनले भने ।
शेर बहादुर देउवालाई काँग्रेस सक्न लागि परेको बताउँदै दिल्ली गएर आएपछि संविधान संशोधन प्रस्ताव पेश गरियो पास भएन, फेरी दिल्लीलाई अर्को संशोधन ल्याएर पास गर्ने बचन दिए यसरी काँग्रेस सकिँदै गएको उनको जिकिर थियो ।
काँग्रेसमा असल नेता थोरै मात्रै रहेको बताउँदै अधिकांश भ्रष्टचारी रहेको र काँग्रेसको पेशा नै भ्रष्टचार भएको उनका भनाई थियो ।
प्रदेशमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद रहने र यसले ५ वर्ष सम्म सत्ता सञ्चालन गर्ने बताउँदै अधिकारीले भने ‘अवको पाँच वर्ष काँग्रेसको सरकार बन्न सक्दैन ।
उनले सो क्षेत्रबाट पटक पटक निर्वाचित नेपाली काँग्रेसका सदावहार नेतालाई ईङगित गर्दै २५ वर्षसम्म सत्तामा रहँदा गोरखालाई केही दिन नसकेको तर्क गरे ।
कार्यक्रमममा निर्वाचन क्षेत्र नं. १ का प्रदेश नं. १ का उम्मेदवार लेख बहादुर थापाले आफूले जितेपनि हारेपनि गोरखा निर्वाचन क्षेत्रको विकासमा लागि पर्ने बताए । आफू चारवर्ष जेल जीवन विताएर बाहिर आएपछि १० वर्ष सम्म जिल्ला विकास समितिको परामर्श समितिमा रहेर काम गरेको र सोहीबाटोबाट विकास अगाडि बढेको उनको दाबी थियो ।
हामीहरु लड्दा लड्दै झुक्किएर बाँचेका छौं, नाफाको जिन्दगी राम्रा कामका लागि प्रयोग गर्नुछ, हामीलाई विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति सबै पक्षको विकास गरेर यो प्रदेशलाई अगाडि बढाउनु दायित्व रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र थापाले बामपन्थीलाई अत्यधिक मत दिएर विजयी गराउनु गोरखावासीको कर्तव्य भएको बताए ।