अकुत सम्पत्तिवालाहरु अख्तियारको निशानामा

750
views

काठमाडौँ, २० कात्तिक । पछिल्ला बर्षमा सुस्ताउँदै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सक्रियता बढाएको छ । आयोगले उच्चपदस्थ व्यक्तिको अकुत सम्पत्ति छानबिनमा सक्रियता बढाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्याल, काठमाडौँ महानगरपालिकाका नगर निरीक्षक धनपति सापकोटा र रघुनाथ पाण्डेसँग बयान लिएको छ । अकुत सम्पत्तिको आशङ्कामा यसअघि सम्पत्ति विवरण भराउने काम गरेको अख्तियारले आइतबार बयानका लागि बोलाएको हो । अख्तियारले प्रहरीका पूर्वप्रमुख र केही बहालवाला सचिवसँग बयान लिने क्रम समेत सुरु भएको र सूचीमा रहेका अन्यको बयान केही दिनमै हुने अख्तियार स्रोतको भनाई छ ।
अख्तियारले आइतबार अकुत सम्पत्तिको आशङ्कामा प्रहरीका पूर्वप्रमुख अर्याल, नगर निरीक्षकद्वय सापकोटा र पाण्डे तथा बहालवाला सचिव गजेन्द्र ठाकुरसँग बयान लिएको हो ।
यस्तै अख्तियारले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो घोटालाका रूपमा चिनिएको ट्रान्सफर्मर खरिद प्रकरणमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग पनि बयान लिएको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी कामकारबाही गरेको भन्दै अख्तियारले क्षेत्री र पण्डितसँग बयान लिएको हो ।
अख्तियारको अनुसन्धानले गुणस्तरहीन ट्रान्सफर्मर खरिद भएको निष्कर्ष निकाल्दै प्राधिकरणका उच्चपदस्थ कर्मचारीमाथि यसअघि नै मुद्दा दर्ता भइसकेको छ । २०७० मा अख्तियारले ट्रान्सफर्मर निर्यात गर्ने चिनियाँ हुवाई सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रोनिक्सका सञ्चालक र प्राधिकरणका कर्मचारीउपर मुद्दा दर्ता गरेको थियो । अख्तियारले तत्कालीन महाप्रबन्धक, कार्यकारी निर्देशकसमेत गरी २२ जना कर्मचारीमाथि मुद्दा चलाएको थियो ।
अदालतमा विचाराधीन मुद्दामा आर्विट्रेसनमा जाने निर्णय गरी मध्यस्थता गर्न सहयोग गरेको आरोपमा क्षेत्री, पण्डितसँग बयान लिइएको हो । उक्त निर्णय गर्ने बैठकमा तत्कालीन ऊर्जा सचिवको हैसियतमा पण्डित र क्षेत्रीले अध्यक्षता गर्नुभएको थियो । आर्विट्रेसनमा जाने निर्णयबाट थप दुई करोडभन्दा बढी क्षति पुगेको अख्तियारको प्रारम्भिक दाबी छ ।