राप्रपाको चुनावी घोषणापत्रः सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था (घोषणापत्र सहित)

837
views

काठमाण्डौ, २१ कार्तिक । राप्रपाले राजासहितको प्रजातन्त्र हुने चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा हिन्दु राज्य पुनस्र्थापना, राजासहितको प्रजातन्त्रलाई महत्वका साथ उठाएको छ । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको र राष्ट्रिय अखडण्तामा चुनौती थपिएको विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।
राप्रपाले खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको हित संरक्षण, भूपु सैनिक, निजामती कर्मचारीहरुको संरक्षण, यातायात विकास, भौतिक पूर्वाधारहरुको विकास, पर्यटन क्षेत्रको विकास, वन तथा वातावरण संरक्षण लगायतका विषयहरुलाई आफ्नो घोषणापत्रमा समेटेको छ ।
नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको समेत उल्लेख गरेको छ । घोषणापत्रमार्फत नेपाल बन्द नगर्ने समेत उल्लेख गरिएको छ ।
राप्रपाले सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वांचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने उसले बताएको छ ।