अंग्रेज हारेको त्यो २५० बर्ष अघि

1113
views

नवदृष्टि संवाददाता
सिन्धुली, २२ कार्तिक । तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा कात्तिक २४ गते विजयउत्सव मनाउने तयारी गरिएको छ । ऐतिहासिक सिन्धुलीगढीमा समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्राको तयारी गरिएको छ । यसले काठमाण्डौ र सिन्धुलीगढीलाई जोड्न सफल हुने आशा गरिएको छ । गढीयुद्धमा विजय हासिल गरेको २५० बर्ष पुग्दैछ । ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रासँगै सो दिनको साँझ विजयोत्सव साङ्गीतिक समारोह गर्न लागिएको लिलानाथ घिमिरेले जानकारी दिए ।

विययोत्सव कार्यक्रममा राष्ट्रप्रमुख तथा उपप्रमुखको सहभागिता हुने जनाइएको छ । साइकल यात्रा तीनकुनेबाट सुरु गर्ने समेत तयारी गरिएको छ । ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर यस यात्रामा विश्वभरिका साइकल यात्रामा रमाउन चाहनेहरुलाई सहभागी गराउने योजना रहेको घिमिरेले बताए ।

यात्रामा १ सय १० जना साइकल यात्री सहभागी हुने साइकल यात्राका संयोजक सौरभ ढकालले जानकारी दिए । अभियानले एक बर्षअघि अनलाइनबाट सहभागी हुन चाहनेहरुलाई दर्ताका लागि आह्वान गरेको थियो । ढकालले साइकलयात्रा कात्तिक २३ गते सुरु हुनेबताए ।

साइकल यात्रामा नेपाल पर्यटन बोर्ड, फास्टफुड एसोसिएसन नेपाल, सानो पाइला, दमौली युनेस्को क्लव, शिवाकोटी ब्याग, राष्ट्रिय बीमा संस्थान, हिलटप जुनार बचत तथा ऋण सहकारी, परिवर्तन खबर डटकम, होलिभिजन स्कुल, सिन्धुलीय श्रेष्ठ समाज, म पानी, टिभिसी,सुलभ बचत तथा ऋण सहकारी, सगुन डटकम, सुस्मित इन्टरनेशन, सडक बोर्ड नेपाल, सिन्धुलीगढी प्रोसेस्ड ड्रिकिङ वाटर, बोन्टी हिमालयलगायतका संस्थाले आर्थिक र भौतिक सहयोग गरेका छन् ।

उद्योग बाणिज्य संघ सिन्धुलीले सिन्धुलीको सांगितिक महोत्सवको संयोजन गर्नेछ । यस्तै बाटोमा पर्ने बनेपा नगरपालिका, रोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलंजोर गाउँपालिका, कमलामाई नगरपालिका र निर्माण ब्यवसायी संघले साइकल यात्रीलाई खाना÷खाजा खुवाउने छन् । होटल ब्यवसायी संघ, सिन्धुली र खुर्कोटले यात्रुलाई बासको ब्यवस्था मिलाएका छन् । सिन्धुली रेडक्रसले यात्रा अबधिभर एम्बुलेन्सको ब्यवस्था गर्ने छ ।

नेको इन्स्योरेन्सले साइकल यात्रामा जाने सबैको बीमा गरिदिएको छ । नेपाल माउन्टेनबाइक, नेपाल साइक्लिङ एसोसिएसन, हनी गाइड, साउथ होल टे«क्सलगायतले प्राविधिक रुपमा सहयोग गरेका छन् । काठमाडौंमा हुने साइकल यात्रा उद्घाटन समारोहको ब्यवस्थापन लाइन्स क्लव अफ काठमाडौं पल सिटीले गर्नेछ ।