भयरहित वातावरणमा मतदान गराउन सरकार प्रतिबद्ध–देउवा

652
views

नवदृष्टि संवाददाता
जनकपुरधाम, २२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । देउवाले गृह मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले आम जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले विगतमा सुरक्षाको कमजोरीले नभई राजनीतिक दलको अस्वस्थ प्रतिस्पर्धाले केही घटना घटित भएकाले भयमुक्त वातावरणलाई अझ प्रभावकारी एकीकृत सुरक्षा योजना तयार गरिएको जानकारी दिनुभयो ।

गृहसचिव मोहनकृष्ण सापकोटा र सहसचिव नारायणप्रसाद शर्माले संघीयता कार्यान्वयन दिशामा निर्वाचन कोशेढुङ्गा साबित हुने धारणा राख्नुभयो ।