उपचार गर्ने विदा नदिंदा पाल्पाका एक युवाको मलेसियामा मृत्यु

837
views

कार्तिक, २४ गते । पाल्पाका एक युवाको मलेसियामा ज्यान गएको छ । रिप्दीकोट गाउँपालिका भैरवस्थान ४ सिलाङथोकका सन्दीप रोकाको मलेसियामा ज्यान गएको हो । दुईवर्ष अघि काठमाडौंको एक म्यानपावरबाट मलेसिया गएका ३६ वर्षे रोका मलेसियाको सेराम्बानमा रहेको गुन्मा गार्ड फोर्स कम्पनीमा कार्यरत थिए ।

केही दिन अघि ज्वरो आएको र उपचार गराउन जानका लागि कम्पनीसँग विदा माग्दा कम्पनीले उपचार गराउनको सट्टा नाइट ड्युटीमा खटाइदिएको र उपचार गर्न नपाएका कारण उनको होस्टलको कोठामै मृत्यु भएको सँगै काम गर्ने साथीहरुले बताएको उनकी आमा मीना रोकाले बताएकी छन् ।

रोकाका ११ वर्षीया र ८ वर्षीया छोरी रहेका छन् भने उनकी श्रीमतीले अर्कैसँग विहे गरेर गइसकेको पनि भैरवस्थानकै दिलीप रायमाझीले बताएका छन् । रायमाझीले भने, ‘तीन बहिनीको एउटै भाइ थियो सन्दीप, परिवारको लालन पालनसँगै छोरीहरुको सिक्षा दिक्षाको भार एक्लै उठाउँदै आएको थियो उसको मृत्युपछि परिवार विचल्लीमा परेको छ ।’ रोकाको ८ नोभेम्बर ( २२ कात्तिक) बुधबार राति कम्पनीको होस्टलमै मृत्यु भएको थियो ।