आफ्नै बाबुद्वारा छोरी र दुई नातिनीको हत्या

833
views

रोल्पा २५ कार्तिक । रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ । रोल्पा नगरपालिका–७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले छोरी र दुई नातिनीको शुक्रबार बेलुका बञ्चरोले हानेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या भएको हो । उनी बिरामी बाबुलाई भेट्न तीन दिनअघि माइत आएकी थिइन् ।
पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँचेको पन्थीले जानकारी दिए । लिलबहादुरले पत्नी र छोराको पनि हत्या गर्न तयार भएको खुल्न आएको छ ।
परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो । गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई छ ।