काठामाडौं, २५ कार्तिक । मोरङ बुढीगंगा गाउँपालिका तिलाठी चोकमा १५ वर्षदेखि ६७ वर्षीया बालोदेवी मोदी (थरुनी) प्याजी र आलु चप बनाएर बिक्रि गरिरहेकी छिन् । चप बेचेर दिनको ३ देखि पाँचसय सम्म कमाउने बलादेवी पूर्वसांसद अमनलाल मोदीकी आमा हुन । अमनलाल मोदी दोश्रो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट सांसद बनेका थिए । उनी बिघटित संसद्को सुशासन समितिका सदस्य र थारु कल्याणकारी आन्दोलनमा पनि सक्रिय थिए ।
एकल महिला बालोदेवी चप विक्रि गरेरै ७ सन्तानको पालनपोषण गरेको स्थानीय बताउँछन् । पूर्व सांसद अमनलाल बालोदेवीका कान्छा छोरा हुन् । उनका जेठा छोरा दुहवीमा होटल चलाउँछन् । उनकी माइली छोरी शान्ति मोदी अधिवक्ता ह्ुन् । पहिलो संविधानसभा निर्वाचनमा शान्ति मोरङ ७ नम्बर क्षेत्रबाट विजय गच्छदार र शेखर कोइरालसँग प्रतिश्प्रर्धामा थिइन् । बालोदेवीका दुई छोरी पूर्णकला र सीता सामाजिक कार्यकर्ता हुन ।
एकल महिला बालोदेवीले अनेक कष्ट खेपेरै छोराछोरीलाई जिम्मेवार नागरिक बनाएको उनका छिमेकी कुल प्रसाद पौडेल बताउँछन् । सम्पत्तिका नाममा बालोदेवीको जमिन तीन कठ्ठा मात्र थियो । उक्त जमिनमा उब्जेको अन्नबालीले परिवारलाई खान नपुग्ने भएपछि उनका पति पवनलाल हटिया घुमेर चामल विक्रि गर्थे । तर, ०४३ सालमा उनको पनि मृत्यु भयो । पतिको मृत्युपछि आफन्तीले बालोदेवीलाई मुद्दा लगाएर गाउँबाटै लखेट्न खोजेका थिए । बालोदेविले भनिन्, ‘ तर, केही छिमेकीहरुको सहयोगले उठीबास लागेन ।’ उनले जनमन गर्दै छोराछोरी हुर्काइनन् मात्र, विद्यालय पढ्न पनि पठाइन् । उनले घरमै सानोतिनो किराना पसल राखिन् । सँगै चप विक्रि पनि सुरु गरिन् । यहि चप पसलको आम्दानीले छोरीहरुको विहे समेत गरिदिइन् । आजको नयाँपत्रिका दैनिकबाट