एमाले–माओवादी केन्द्रबीच चुनाव अघि नै पार्टी एकता किन ?

आफ्नै कार्यकर्ताको भोट कता जाने हो भन्ने शंकामा ओली–प्रचण्ड

1603
views

नवदृष्टि संवादादाता
काठमाण्डौ, २६ कार्तिक । चुनावपछि एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता हुने कुरा असोज १७ गते नै औपचारिक घोषणा गरेका वाम पार्टी चुनाव अगावै पार्टीएकताको निचोडमा पुगेका छन् । यसको मुख्य कारण एमाले र माओवादी केन्द्रका कार्यकर्तामाझ चुनावका लागि भावानात्मक तालमेल नभेटेपछि चुनावअघि नै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारीमा पुगेका हुन् ।

वाम एकतापछि शक्ति तुलोमा देखिएको काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनौति बढेपछि दुई तिहाईको लक्ष्य लिएको वाम गठवन्धनलाई चुनाव अगावै पार्टी एकताको आवश्यकता परेको हो ।

स्थायी सरकारका लागी वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका दुई पार्टीबीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगावै ९ मंसिरमा पार्टी एकीकरणको घोषणा गर्ने तयारी भएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन् ।

पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए । एकतापछि दुवै पार्टीका कार्यकर्तामा विश्वास पैदा हुने अपेक्षा गरिएको छ ।

दुई पार्टीकाबीच विगतमा सरकार परिवर्तनदेखि पटक पटक भएका लिखित र मौखिक प्रतिवद्धताहरु कार्यान्वयनमा नआएपछि दुई पार्टीलाइ चुनाव अगावै एकताको संघारमा उभ्याएको हो । वाम गठवन्धनको यो चुनावी तालमेलले अवसरसँगै चुनौतिहरु थपिएपछि मूलतः दुई तिहाईकै कसरतमा एकता हुने तयारी भएको स्रोतको भनाई छ ।