पुरुषको चुनौती झेल्दै विना मगर

1096
views

काठमाडौ, २६ कार्तिक । मंसिर २१ मा दोस्रो चरणमा हुने निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य वाम गठबन्धनकी उम्मेदवार बिना मगरलाई दक्षिणी भेगका महिलाले साथ दिने भएका छन् ।

माओवादी केन्द्रकी नेतृ संयुक्त वाम गठबन्धनकी उम्मेदवार बिना यस अघि दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचन क्षेत्र नम्बर १ बाटै पराजित भएकी थिईन् । पराजित हुँदा पनि दक्षिणी भेगको विकास र जनताको सुख दुःखमा साथ दिएको भन्दै उनलाई दक्षिण भेगका महिलाले साथ दिएका खबर मोहन विष्टले कञ्चनपुरबाट आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

दक्षिणी क्षेत्रका जनताले बिना संघर्षशील महिला उम्मेदवार भएका कारण उनलाई सहयोग गर्ने बचन दिएका छन्। पञ्चायत देखि हालसम्मका निर्वाचनमा कुनै पनि पार्टीले महिला उम्मेद्वार नबनाएका कारण दक्षिणी महिला हरेक क्षेत्रमा पछाडि पारिएको भन्दै बिनालाई साथ दिने बताएका हुन् ।

क्षेत्र नम्बर १ की स्थानीय महिला जयन्ती बोहराले यस क्षेत्रबाट बिनालाई साथ दिने उद्घोष गरेकी छिन् । ‘हाम्रो क्षेत्रका महिलाको उत्थान र विकासका लागि पनि बिनालाई जिताउनु पर्छ, ‘उनले भनिन्, ‘सधै चुलोचौकोमा सिमित महिलाको उत्थानका लागि पनि यस पटक बिनालाई जिताउनु पर्छ।’

बिनाले दिगो आर्थिक विकास, सम्वृद्धिका लागि सहयोग गर्न निर्वाचन क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरेकी छन् ।