पोखरामा एक हुल चिनियाँको चहलपहल

769
views

काठमाण्डौ, २८ कार्तिक । मन्त्रीपरिषदमा चिनियाँ कम्पनी गेजुवासँगको बूढीगण्डकी जलविद्युत परियोजनाको सम्झौता खारेज गर्ने विषयमा छलफल हुँदै गर्दा पोखरा पुगेका एक हुल चिनियाँ भने असिनपसिन देखिन्थे ।

ट्रिपर,डोजर र लोडरको चहलपहल पनि निकै थियो। चिनियाँहरु असिनपसिन हुनमा गेजुवासँगको साइनो भने पटक्कै थिएन । बरु, उनीहरु सम्झौता अनुसार नै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीब्रता दिने ध्याउन्नमा थिए।

रितिरिवाज त मान्नै र्पयो! चिनियाँहरुले कार्तिकको सुनौलो बिहानीमा पूजापाठ नै गरे। चिनियाँ ठेकेदार कम्पनीको विमानस्थल परियोजना प्रमुख जेरी याङसँगै पोखरा विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रदीप अधिकारी पूजापाठमा सामेल भए। लगत्तै मजदूरसँगै निर्माण उपकरणहरु जमिन सम्याउने काममा लागे।

लामो विवाद र दबाबकाबीच २९ बैशाख २०७१ मा चिनियाँ सरकारी कम्पनी ‘चाइना सिएमएसी इञ्जिनियरिङ’ सँग विमानस्थल निर्माणको सम्झौता भएको थियो। यो परियोजनालाई चीनकै एक्जिम बैंकले करिब २२ अर्ब रुपैयाँ ऋण समेत दिएको थियो।

ऋण सम्झौतासँगै गएको साउन १६ गतेदेखि पोखरामा डेरा जमाउँदै आएको चिनियाँ टोलीले माटो परीक्षणलगायतका कामहरु गर्दै आए पनि जमिन सम्याउने काम भने सोमबारबाट मात्र सुरु भएको हो।

विमानस्थलका परियोजना प्रमुख इञ्जिनियर प्रदीप अधिकारीका अनुसार ३० चिनियाँसहित १ सय २० जना कामदार यतिबेला निर्माणमा खटिएका छन्। जमिन सम्याउने, पुर्नेलगायतका काम पहिलो चरणमा सम्पन्न भएपछि भौतिक निर्माणको दोस्रो चरणको काम सुरु हुनेछ।

तोकिएको समय अर्थात् १० जुलाई २०२१ सम्म निर्माण सकिने गरी काम अगाडि बढाइएको अधिकारीले बताए।

परियोजना निर्माणको क्रममा आवश्यक पर्ने कार्यालय, आवासलगायतका पूर्वाधारहरु तयार भएको र चीन सरकारसँग जोडिएको परियोजना भएकोले तोकिएकै समयमा काम सिध्याउन आफूहरु लागिपरेको चिनियाँ ठेकेदार कम्पनीको विमानस्थल परियोजना प्रमुख जेरी याङले बताए।

यो परियोजनामा २५ प्रतिशत रकम चीन सरकारले बिना ब्याज उपलब्ध गराएको छ भने बाँकी ७५ प्रतिशत रकम एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको हो।

अन्तर्रा्ष्ट्रिय हवाई उड्डयन मापडण्ड अनुसार बन्ने विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाईको हुनेछ भने बोइङ ७५७ र एयर बस ३२० जस्ता जहाज उड्न र अवतरण गर्न सक्नेछन्। विमानस्थल निर्माणपछि पोखराले सीधै अन्तर्रा्ष्ट्रिय सहरहरुसँग सम्बन्ध स्थापना गर्नेछ।

विमानस्थल निर्माणको लागि २०३२ सालमा नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पोखराको विकासको पूर्वाधारमा महत्वपूर्ण योगदान गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाईमा सो जग्गा अधिग्रहण भएको थियो।

विमानस्थल निर्माणको लागि आन्दोलन समेत गरेका पोखरेलीहरुले पछि परियोजनालाई आवश्यक पर्ने थप ६ सय २९ रोपनी जग्गा राजीखुसीले सरकारलाई हस्तान्तरण गरेका थिए । नेपालखबरबाट