एकसय भन्दा बढी मुलुकमा विना सम्झौता कामदार पठाइँदै

676
views

काठमाण्डौ, २८ कार्तिक । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको खाडी तथा मलेसियाका सरकारले नेपालको श्रम सम्झौताको प्रयास वेवास्ता गर्दै आएका छन् ।

नेपाली पक्षबाट श्रम सम्झौताको प्रयासअगाडि बढाइएको भए पनि ९० प्रतिशत भन्दा बढी नेपाली कार्यरत खाडी मुलुक तथा मलेसियाले भने महत्व नदिएको सरकारी अधिकारीहरु बताउँछन् । नेपाल सरकारले ९ महिनाअघि श्रम सम्झौताका लागि साउदी अरब सरकारलाई पत्राचार गरेको थियो । तर, साउदी सरकारबाट भने त्यसको कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

यद्यपी साउदीलाई पत्राचार गर्नुअघि नेपालस्थित साउदी राजदूतसँग त्यसविषयमा विभिन्न चरणमा छलफल समेत भएको थियो ।

नेपाल सरकारले मलेसिया, कुवेत, ओमान, लेबनान लगायतका मुलुकलाई समेत श्रमसम्झौताका लागि पत्राचार गरिसकेको छ । तर, ती मुलुकले पनि श्रम सम्झौतामा खासै चासो देखाएका छैनन् ।
हाल सम्म सरकारले बैदेशिक रोजगारमा कामदार पठाउन कतार, युनाइटेड अरब इमिरेटुस, कोरिया, इजरायल, बहराइन र जोर्डनसँग मात्र श्रम सम्झौता तथा आपसी समझदारी (एमओयु) गरेको छ । त्यस्तै जापानसँग जापान अन्तराष्ट्रिय तालिम सहयोग संगठन (जिटुको) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बाँकी १ सय भन्दा बढी मुलुकमा भने विना कुनै श्रम सम्झौता कामदार पठाइँदै आएको छ । आजको नयाँपत्रिका दैनिकबाट