वाम गठवन्धनका उम्मेदवारको हत्याको षडयन्त्र हुन थालेको ओलीको आरोप

712
views

भक्तपुर, २९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताउनु भएको छ ।


मध्यपुरथिमिको लोकन्थलीमा मंगलबार एमालेले आयोजना गरेको एमालेसँग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उहाँले व्यक्त गर्नुभयो ।
सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भन्नुभयो, “सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?”
सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेर सरुवा, बढुवा गरेको, राज्य कोषको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा मनपरी गर्ने छुट सरकारलाई पनि नभएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन अगाडि एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न नभ्याएकाले निर्वाचनपछि दुई पार्टी एक हुने दाबी गर्नुभयो ।
कार्यक्रममा माओवादी कम्युनिष्ट केन्द्र नेपालको केन्द्रीय संयोजक केशव दाहालको नेतृत्वमा केन्द्रका सिंगो केन्द्रीय समिति पदाधिकारी सहित एमालेमा समाहित भएको छ । त्यस्तै नयाँ शक्ति पार्टी, नेकपा(माले), राप्रपा र काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका एक हजार ८७९ जनालाई ओलीले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।