उग्र प्रचार प्रसारमा वाम/लोक गठवन्धन ब्राण्ड

पर्वतका मतदाता भन्छन्–दलहरुको अभिव्यक्ति झुटैझुटको खेती

2832
views

महेन्द्र जिसी
पर्वत, २९, कार्तिक । वाम गठवन्धनले ८० प्रतिशत मिडियाको प्रयोग र प्रचार प्रसार गर्दापनि पर्वतका वामलाई चुनावी सकस देखिएको छ । मुख्य प्रतिष्पर्धामा पुरानै ब्राण्डले परिचित प्रतिनीधि सभाका उम्मेदवार अर्जुन प्रसाद जोशी देखिएछि वामलाई चुनावी सकस देखिएको हो ।

वाम गठवन्धनको ब्राण्ड नयाँ र लोकतान्त्रिक गठवन्धनको ब्राण्ड पुरानोका बीच कडा प्रतिष्पर्धाले पर्वतको चुनाव रोमाञ्चक बन्दै गएको छ । मनोनयन दर्ताको शक्ति प्रर्दशनले भने लोकतान्त्रिक गठवन्धनलाई बलियो र वाम गठवन्धनलाई कम्जोर देखाएको एउटा उदाहरण प्रस्तुत भैसकेको छ । यसभित्र हुने खेलमा वाम शक्ति घोत्लिएको छ ।

स्व. बाबु अमृत प्रसाद जोशीको देन र सदरमुकाममा देखिएको काँग्रेसको पकडले चुनावमा वामलाई जित वा हारको अन्यौलता सिर्जना गरेको छ । यहि देनका कारण पर्वतमा काँग्रेसले जित हात पार्न सफल हुँदै आएको छ ।

वाम गठवन्धनभित्रको आन्तरीक मनमुटाव पोलिट व्युरो सदस्य र पूर्व सांसद विकास लम्साल समेतलाई उछिन्दै दोस्रो दर्जाका प्रखर युवा नेता पदम गिरीले टिकट हत्याएपछि त्यस गठवन्धनको अन्यौलता गुट र उपगुटको कारणले पनि वामभित्रको आन्तरीक शक्ति कम्जोरसँगै काँग्रेसले नै फाईदा उठाउनसक्ने सतहमा आएको छ ।

मुख्य त वामशक्तिभित्र पुरानो मतको आधारमा अंकगणितिय गणना शुरु भएको र जितको ढुक्कता देखाइएपनि त्यो उलपुलट हुने सम्भावना बढ्दै गएको छ । पर्वतका दुई निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ केन्द्रका केही मतदातासँग गरिएका कुराकानीमा उग्र प्रचार प्रसारका शैलीले यहि नेता ठिक हो भन्ने कुराको निष्कर्षमा मतादाता पुग्न सकेका छैनन् ।

काँग्रेसका पनि केही पुराना नेताहरु पार्टीभित्रको एकात्मक शैलीप्रति रुष्ट देखिएका छन् । वागी उम्मेदवार फिर्ता लिएपनि काँग्रेसभित्रको आन्तरीक समस्या चुनाव अघि नै समाधान नभए सहयोग र असहयोगका बारे सोच्नै नसकिने बताउन थालेका छन् ।

वाम गठवन्धनका नेताहरुले पर्वत काँग्रेसको वारवारलाई तोडेर यस निर्वाचन मार्फत वारपार गराउने निचोडमा पुगेका छन् । वाम एकताका कारण पर्वत काँग्रेसको पुरानो ईतिहास जोगाउन चुनौति थपिएको छ । भने वाम तर्फपनि पार्टी एकताको विषयले कार्यकर्तामा विश्वासको अभाव देखिएको छ ।

आफुलाई जनताको लोकप्रिय ठान्ने र ‘ख’ केन्द्र जित्दै आएका वर्तमान वामगठवन्धनका नेताहरुले पनि खासै विकास निर्माणका उपलब्धीमुलक कामहरु गर्न सकेका छैनन् । उनीहरुले मात्र प्रचारप्रसारमा विकास निर्माणको नारा फलाक्दै आएको भएपनि यस क्षेत्रका सर्वसाधारणले त्यसको अनुभुति गर्न नसकेको बताउँछन् ।

त्यसो त ‘क’ केन्द्रको नेतृत्व सम्हालेको काँग्रेसले पनि जनताको आशातित प्रगति देखाउन सकेको छैन् । आफु निकटका संघ संगठनलई परिचालन गर्ने काममा बाहेक गरीब सर्वसाधारणलाई फाईदामुलक कार्य गर्न नसक्दा त्यस क्षेत्रका सर्वसाधारणले समेत मनस्थिति बदल्ने अवस्थामा पुगेको पाईन्छ ।

पर्वतमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनीधि सभामा केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, ‘क’ केन्द्र प्रदेश सभा सदस्यका उम्मेदवार नवराज गुरुङ्ग, एमाले, माओवादी केन्द्रका साझा उम्मेदवार नेत्र अधिकारी र एमाले–माओवादी केन्द्र प्रतिनीधि सभाका साझा उम्मेदवार युवा नेता पदम गिरी र ‘ख’ केन्द्रका निर्वतमान सांसद विकास लम्साल र काँग्रेस लोकतान्त्रिक गठवन्धनका उम्मेदवार राजेन्द्र तिवारी प्रतिष्पर्धामा देखिएका छन् ।