लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई संबोधन गर्न देउवा आज बैतडीमा

856
views

बैतडी, १ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउनुहुने भएको छ । नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको उपस्थितिमा आज तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ ।

दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले आज दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, दार्चुलाले जनाएको छ ।

वाम गठवन्धनले पनि उक्त क्षेत्रमा चुनावी कार्यक्रमलाई तिव्र रुपले अगाडी बढाएको छ । बैतडीको देहीमाडौँमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

साना दलहरुले घरदैलोमार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलोमार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले जानकारी दिनुभयो ।