काँग्रेस नेता डा.रामशरण महतलाई लक्षित गर्दै बम विष्फोटन चार घाईते

695
views

नुवाकोट, १, मंसिर । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा.रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै आज नुवाकोटको ककनीमा ५ को मजुवा चियाबगान अगाडि बम विष्फोट गराइएको छ ।

विष्फोटनबाट चारजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल रहेका छन् । चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी गराए ।

बम विस्फोटनबाट उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायतका काँग्रेसका कार्यकर्ताहरू घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था भने गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि काठमाडाँँतर्फ ल्याइदै छ ।

उम्मेदवार महतद्वय चढेको बा १४ च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं गाडीमा बम लागेको थियो ।

विस्फोटनका कारण गाडी पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी गराए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।