वाम गठवन्धन स्थिर सरकार र समृद्धिका लागि – दाहाल

630
views

चितवन, मंसिर १ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभालाई संबोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो ।

अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गर्नुभयो ।

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताउनुभयो । अध्यक्ष दाहालले अबको निर्वाचनमा कसैले पैसाको भरमा निर्वाचन जित्छु भन्ने ठान्छ भने त्यो दिवा सपना भएको पनि स्पष्ट पार्नुभयो ।