काठमाण्डौ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज उद्घाटन भएको छ ।
खेलको प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो ।
‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।
जङ्गी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आज नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमले पश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ ।
सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले व्यक्तिगत ७ गोल गरेकी थिईन् ।
प्रतियोगितामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच भएको खेलमा नेपाल प्रहरीको महिला फुटबल टिमले मध्यपश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ ।
उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला वि.क.उत्कृष्ट खेलाडी घोषित भएकी थिईन् । उनले व्यक्तिगत ४ गोल गरेकी थिईन् । समुद्घाटन समारोहमा रक्षा सचिव विनोद केसी लगायतको उपस्थिति रहेको थियो ।