काठमाण्डौ, २ मंसिर । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले-माओवादी गठबन्धनका गरी ३६ जना छन् । यी तीनवटै दलले उठाएका अधिकांश उम्मेदवार धनाढ्य छन् ।
पर्सा १ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले उद्योगपति एवं निवर्तमान सांसद अनिल रुँगटालाई उठाएको छ । दोस्रो संविधानसभाका समानुपातिक सभासद् रुँगटाको वीरगन्ज( पथलैया औद्योगिक कोरिडोरमा रहेका थुप्रै उद्योगमा साझेदारी छ । दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वा्चित राजेन्द्रबहादुर अमात्य र रुँगटाबीच मनोनयनको दिनसम्म टिकटका लागि निकै रस्साकस्सी चलेको थियो । तर, विपक्षी दलका उम्मेदवारले चुनाव जित्न रकमको ठूलो चलखेल गर्ने संकेत पाएर अन्तिम समयमा कांग्रेसले रुँगटालाई टिकट दिएको कांग्रेस पर्सा जिल्ला कार्यसमितिकै एक सदस्य बताउँछन् । यस क्षेत्रमा चुनावका लागि पैसाको ठूलै चलखेल हुने चर्चा व्यापक रूपमा चलेको छ,’ उनले भने, ‘त्यही भएर हामीले पनि उद्योगी रुँगटालाई उठाएका हौं।’
सोही क्षेत्रमा राजपा र फोरम नेपालका साझा उम्मेदवार प्रदीप यादव छन् । मधेस आन्दोलनपछि चर्चामा आएका यादवकै विशेष जोडबलमा वीरगन्ज महानगरपालिकाको मेयरमा फोरमका विजय सरावगी निर्वा्चित भएका थिए । यादव पनि आर्थिक रूपमा सबल नै छन् । फोरमभित्र यस क्षेत्रका लागि अरू कोही नेता आकांक्षी नभएका कारण यादवले सहजै टिकट पाएका हुन् ।
वाम गठबन्धनबाट क्षेत्र १ मा एमालेका निवर्तमान सांसद विचारी यादव प्रतिस्पर्धामा छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा पर्सा(२ बाट निर्वा्चित भएका थिए । उनी पनि आर्थिक रूपमा सबल उम्मेदवार मानिन्छन् । पर्सा( १ मा कांग्रेस, फोरम र एमाले तीन दलले उठाएका उम्मेदवार हेर्दा यहाँ सबैभन्दा बढी पैसाको चलखेल हुने देखिन्छ । । आजको अन्नपूर्ण पोस्टबाट