सात प्रदेशमा कांग्रेसबाट यस्ता छन् मु्ख्य मन्त्रीका दाबेदारहरु (नाम सहित)

3685
views

रिना खनाल
काठमाडौं, ३ मंसिर । आगामी महिनाको १० र २१ गते हुन लागेको प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा नेपाली काँग्रेस मुख्य मन्त्रीका दाबेदारहरु प्रदेशमा यस्ता रहेका छन् ।


प्रदेश नम्बर १
नेपाली काँग्रेसबाट हेभी वेटका नेताहरु प्रदेश सभाको उम्मेदवारी दिएका छैनन् । काँग्रेसमा जिल्ला सभापतिहरू मुख्यमन्त्रीका दाबेदार देखिन्छन् । ताप्लेजुङबाट जिल्ला सभापति लीला बोखिम, पाँचथरबाट नरेन्द्र केरुङ, सुनसरीबाट राजीव कोइराला, उदयपुरबाट विदुर बस्नेत, सोलुखुम्बुबाट आङगेलु शेर्पा, खोटाङबाट विष्णु राई, धनकुटाबाट मनोहरनारायण श्रेष्ठ र तेह्रथुमबाट गोविन्द ढुंगाना उम्मेदवार छन् । उनीहरूनै मुख्यमन्त्रीका दाबेदार हुन् ।
प्रदेश नम्बर २
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन धनुषा र कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र सिरहाबाट उम्मेदवार छन् । त्यस्तै, नेविसंघका पूर्वसभापति रञ्जित कर्ण सप्तरी, पूर्वसांसद डा गणेश मण्डल सिरहा, प्रेमकिशोर साह तथा रामसरोज यादव धनुषा र जनार्दन क्षेत्री पर्साबाट उम्मेदवार छन् । उनीहरू नै मुख्यमन्त्रीको दाबेदार हुन् ।
प्रदेश नम्बर ३
सिन्धुलीका श्याम घिमिरे, मकवानपुरका इन्द्र बानियाँ, चितवनका दिनेश कोइराला, काभ्रेका कञ्चनचन्द्र बादे श्रेष्ठ, काठमाडौंका लोकेश ढकाल, भक्तपुरका गणेशमान चक्रधर र नुवाकोटका जगदीश्वरनरसिंह केसी मुख्यमन्त्रीका उम्मेदवार हुन् ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ मा भने केन्द्रीय नेताहरू नै दाबेदार छन् । कृष्णचन्द्र नेपाली नवलपुर पूर्व १ क, महेन्द्रध्वज जिसी ख, तनहुँ १ क गोविन्द भट्टराई, तनहुँ २ क प्रदीप पौडेल, ख मा धु्रव वाग्ले, कास्की १ क जीवन परियार उम्मेदवार छन् । उनीहरु नै मुख्यमन्त्रीका दाबेदार हुन् । भट्टराई, पौडेल र परियार केन्द्रीय सदस्य हुन् । यीबाहेक कास्की ३ क शारदा पौडेल, स्याङ्जा १ क कमलप्रसाद पंगेनी र पर्वत ‘क’ नवराज गुरुङ्ग पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।
प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ बाट कांग्रेसमा केन्द्रीयस्तरका नेता मुख्यमन्त्रीका दाबेदार छैनन् । कपिलवस्तु ३ ख बाट वीरेन्द्रकुमार कनौडिया, दाङ ३ क बाट डिल्लीबहादुर चौधरी, दाङ २ क बाट कमलकिशोर घिमिरे मुख्यमन्त्रीका दाबेदार हुन् ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही हुम्ला ख बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । सुर्खेत २ ख बाट तप्तबहादुर विष्ट पनि अर्कोे सम्भावित नाम हो ।
प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ मा डडेल्धुरा क बाट रघुराज भट्ट, ख बाट कर्णबहादुर मल्ल, डोटी १ क बाट भरतबहादुर खड्का, बाजुरा क बाट जनकराज गिरी मुख्यमन्त्रीका दाबेदार हुन् । यीमध्ये गिरी पूर्वसहायकमन्त्री हुन् । खड्का सांसद भइसकेका छन् । मल्ल कांग्रेस डडेल्धुरा सभापति हुन् । बझाङ ख बाट उम्मेदवार बनेका पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह पनि दाबेदार हुन् ।