१७ किलो अबैध सुन रसुवामा बरामद

1509
views

काठमाण्डौ, २ मंसिर । रसुवा प्रहरीले चीनको केरुङबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको १७ किलो सुन बरामद गरेको छ ।

रसुवाको पार्वतीकुण्ड गाँउपालिका वडा नं. ५ का कर्साङ दाबा तामाङले बा.११ च ८९१८ नं को गाडीमा लुकाएर ल्याएको अबैध सुन प्रहरी चौकी टिमुरेले आज बिहान बरामद गरेको जनाएको छ ।

गाडी धनी तथा चालक समेत रहेका ३१ वर्षका तामाङले बोलेरो जिपको सिटमुनी लुकाएर ल्याएको सुन गोप्य सुराकीको आधारमा बरामद भएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापाले जानकारी दिए ।

पछिल्लो समय केरुङबाट रसुवागढी भन्सार हुदै अबैध रुपमा नेपालतर्फ सुन भित्रने क्रम बढिरहेको समयमा १७ किलो सुन सहित आज एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

सुनसहित पक्राउ परेका व्यक्ति र गाडी रसुवा प्रहरीले अनुसन्धान एवं कारबाहीको लागि टिमुरेबाट धुञ्चे ल्याउन लागेको छ ।