चुनाव बिथोल्न खोज्ने विप्लव सहितका समुहलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

667
views

काठमाडौं । निर्वाचन विथोल्न खोज्ने समुहलाई पक्राउन गरी जेल हाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको उद्घाटन गर्दै देउवाले सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारलाई कुण्ठित गर्न खोज्नेलाई जेलको विकल्प नभएको पनि बताए ।


सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी छन्। प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि गोष्ठीमा सहभागी छन् ।
प्रधानमन्त्री देउवाले विप्लव समूहले बुथ कब्जा गर्ने योजनामा लागेको सूचना प्राप्त भएको भन्दै यस्तो प्रकारको दुष्प्रयासलाई निस्तेज पार्ने र जनतालाई निर्भिकताका साथ मतदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई औल्याउँदै विप्लव सहितको निर्वाचन विथोल्ने समुहलाई पक्राउ गरी जेल हाल्ने कदम चाल्न निर्देशन दिएका हुन् ।
कार्यक्रममा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले प्रदेश नम्बर ३ का १३ जिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गर्दै नेकपा विप्लव समूहले चितवन जिल्लालाई हेडक्वार्टरको रुपमा प्रयोग गरेको खुलाएका थिए ।

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाका सुरक्षा चुनौतीबारे पनि प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका छन् । गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन बिथोल्न खोज्ने विप्लव लगायत सबै समूहलाई प्रधानमन्त्रीको निर्देशनअनुसार कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।