त्रिशुली नदीमा १६ औं जलखेलकुद प्रतियोगिता

1127
views

काठमाडौं, मंसिर ४ । ‘नेपाल एशोसिएसन अर्फ याफ्टिङ एजेन्सिज’ (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने ‘हिमालय ह्वाइटहाउस च्यालेन्ज’ नामक १६औं जलखेलकुद प्रतियोगिता हुने भएको छ ।


गत वर्षझैँ मंगलबार (भोलि)देखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा ‘कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिनेछ ।
नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने र सहासिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे हो । ‘नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ’, कोषाध्यक्ष खनालले भने ।
हाल भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइडहरू क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल पनि खेलाउने छन् । उक्त खेलमा ५०० जनाको सहभागिता रहने र प्रतियोगिताको चार ओटै खेलमा क्रमशः प्रथमलाई रू एक लाख, दोस्रोलाई रू ५० हजार र तेस्रोलाई रू ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।